काठमाडौं । गत भदौमा पूरा गर्नुपर्ने काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को निर्माण १६ प्रतिशत मात्र पूरा भएको छ । गत भदौमै सकिएर सञ्चालन भइसक्नुपर्ने द्रुतमार्गमा करिब १६.१८ प्रतिशत मात्रै काम सकिएको हो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले अब आर्थिक वर्ष २०८१\८२ को अन्त्य सम्ममा काम सक्ने नयाँ लक्ष्य लिइएको जानकारी दिए ।
सेनाले शुरुबाटै लक्ष्यअनुसार काम गर्न सकेन । शुरुमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नभएका कारण अल्झिएको आयोजना पछि सुरुङमार्ग निर्माणबारे गर्नुपर्ने बोलपत्र लगायत प्रक्रियामा अलमलियो । अन्य खण्डमा पनि बेलैमा ठेक्का लगाउनेतर्फ सेनाले ध्यान नदिँदा आयोजना सुस्त गतिमा अघि बढेको छ ।
४ वर्षमा निर्माण सक्ने लक्ष्यका साथ ०७४ जेठमा शिलान्यास भएपनि समयमै अध्ययन र ठेक्का दिन नसक्दा द्रुतमार्ग पनि अन्य आयोजनाहरु जस्तै ढिलाइको दलदलमा फस्न पुगेको छ ।
डीपीआर बिनै निर्माण थालिएको भन्दै विज्ञहरुबाट आलोचना हुँदा सेनाले एसियाली विकास बैंक (एडीबी)ले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययनका आधारमा काम गर्दा फरक नपर्ने तर्क गरेको थियो । निर्माणमा ढिलाइ भएपछि भने डीपीआर बनाउन समय लाग्दा समस्या भएको बताएको छ ।