काठमाडौं । नेपाल र भारतबीच दैनिक ८ उडान हुने गरी भारत सरकारले नेपालसँग प्रस्ताव गरेको छ । भारतीय दूतावासमार्फत आएको यस्तो प्रस्तावको जवाफमा नेपाल सरकारले उडान संख्या स्वीकृत गरी गन्तव्य बढाउने प्रस्ताव गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार अहिले नेपाल एयरलाइन्सले दैनिक एक र एयर इण्डियाले दैनिक एक गरी दैनिक दुई उडान भइरहेको छ । यसअनुसार सातामा १४ उडान हुन्छ । नेपाली कम्पनीले दैनिक चार र भारतीय कम्पनीले दैनिक चार गरी ८ उडानको प्रस्ताव गरेको छ ।
यसअनुसार नेपाल र भारतबीच सातामा ५६ वटा उडान हुनेछन् । नेपाल र भारतबीच एयर बबल स्किम अनुसार मात्र उडान भइरहेको छ । यस स्किम अनुसार दुवै मुलुकका नागरिक र तेस्रो मुलुकका कुटनीतिज्ञ तथा अनुमति प्राप्त नागरिकले मात्र यात्रा गर्न सक्छन् । नयाँ प्रस्ताव एयर बबल स्किम भित्रै रहने र उडान संख्या मात्र बढ्ने लामिछानेले जानकारी दिए ।