लमजुङ। लमजुङको दोर्दी खोलामा निर्मित ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादित बिजुली शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
प्रवर्द्धक पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार करिब ४ महिनाको परीक्षणपछि उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। अहिले सुक्खा मौसम भएर १८ मेगावाट उत्पादन भएको छ भने बर्खायाममा पूर्ण क्षमतामा बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणबाट इन्जिनियर आएर सबै परीक्षण गरेको र अनुमति दिएपछि उत्पादन थालिएको बताइएको छ। उत्पादित बिजुली अब १५ दिन निःशुल्क दिने र त्यसपछि मिटरिङ हुने बताइएको छ । आयोजनाको निर्माण पूरा भएसँगै विद्युत् उत्पादन थालिएको हो । सुपर दोर्दी ‘ख’ आयोजना सबै संरचना भूमिगत रहेको नेपालको पहिलो जलविद्युत् आयोजना रहेको दाबी गरिएको छ । यसको डिसेन्डर, पेनस्टक, विद्युत् गृह, टेलरेस सबै भूमिगत छन् ।