काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तारमा क्षति नपुर्याउन अनुरोध गरेको छ। प्राधिकरणले शनिबार एक विज्ञप्ति जारी गर्दै तारमा क्षति नपुर्याउन आग्रह गरेको हो।
प्राधिकरणले दशकौंदेखि टाँगिएका र सेवा प्रवाह भइरहेका तार एकै पटक व्यवथापन गर्न कठिनाइ हुने भन्दै दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन गर्न काम भइरहेको समेत जानकारी दिएको छ।
अहिले दीर्घकालीन रूपमा तारलगायत अन्य युटिलिटीहरूको व्यवस्थापनको लागि सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ।
त्यस्तै दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यस अगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थापन हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भइरहेको छ।