पूर्वी नवलपरासी। पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका अन्तर्गतका खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने उपकरणहरु नियन्त्रणमा लिइएको छ।नगरपालिकाले अवैध रुपमा ढुंगा–गिटी निकाल्ने ५ वटा ठूला उपकरण नियन्त्रणमा लिएको हो।
आइतबार नगरपालिकाले अरुणखोला हुँदै उत्तरतर्फ जोडने मित्याल रामपुर सडक निर्माण गर्ने निर्माण कम्पनी रमण रोजन जेभी चितवनको ५ वटा ठूला मेसिन नियन्त्रणमा लिएको हो ।
अरुण खोलामा अवैध रुपमा ढुंगा गिटि निकासी गर्दै गरेको अवस्थामा पुगेको सशस्त्र र नगर प्रहरीले ती मेसिन नियन्त्रणमा लिएको नगरपालिकाले जनाएको छ ।
मध्यबिन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले सडक निर्माणमा आवश्यक पर्ने खोलाजन्य पदार्थ निकासीको अनुमति नलिएको र राजश्व समेत नतिरेर जथाभावी गरेको पाइएपछि ती सामान बरामद गरेको बताए।
बरामद गरेका उपकरणमा एस्काभेटर, एउटा ट्रयाक्टर र दुई वटा टिपर पनि रहेको नगरपालिकाले जनाएको छ।