स्याङ्जा। कालीगण्डकी नदीमा सेतीबेनी मोटरेबल पुल निर्माण सुरु गरिएको छ। उक्त पुल निर्माण गर्न सम्झौता गरिएको समय अवधी दुई वर्ष पुग्नै लाग्दा निर्माण सुरु गरिएको हो।
कालीगण्डकी नदी सेतीबेनीमा २०७८ असार ३१ गते रायमाझी÷राजेश्वरी जेभीले ४५ महिनामा पुल निर्माण सक्ने गरी सम्झौता गरेको थियो । तर साही पुल सम्झौताको दुई वर्ष पुग्नै लाग्दामात्र निर्माण सुरु गरिएको हो।
स्याङ्जाको गल्याङ नगरपालिका–५ र गुल्मीको कालीगण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुल डिजाइनको निर्माण र स्वीकृतिमा ढिलाइ हुँदा सम्झौताको २२ महिनापश्चात् काम सुरु भएको हो । पुल महाशाखा काठमाडौँले पुल सेक्टर पोखराले अनुगमन गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।
पुल ११ करोड ८६ लाख ४५ हजार ९७० रुपियाँमा निर्माण हुन लागेको छ । निर्माण व्यवसायीले आफैँ डिजाइन गर्ने गरी सम्झौता भएको मोटरेबल पुल डिजाइनको स्वीकृतिमा ढिलाइ भएकाले निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। पाइलिङको काम भइरहेकाले सम्झौताकै समयमा पुल निर्माण गरिने निर्माण कम्पनीले बताएको छ।
पुल निर्माणसँगै विश्वकै सबैभन्दा ठूलो शिला शालिग्राम हेर्न आउने पर्यटक तथा स्याङ्जा र गुल्मीका नागरिकलाई आवतजावतमा प्रत्यक्ष फाइदा हुने स्थानीयको भनाइ छ ।