काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरे अनुसार प्रभावितहरूको माग पूरा नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती गरेको थियो । आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने बाह्रबिसे नगरपालिका–५ का अध्यक्ष बेलबहादुर रोक्काले चेतावानी दिएका छन्।
बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्ष मोहनलाल श्रेष्ठले आयोजनाले प्रभावितहरूसँग गरेको प्रतिबद्धता के कति कारण पूरा नगरेको हो पनि स्पष्टीकरण सोधिएको बताए। उनले प्रभावितका माग तत्काल पूरा गर्न पनि आयोजनालाई आग्रह गरे । यदि माग पूरा नगरी प्रभावितलाई बेवास्ता गरेमा थप कडा आन्दोलन गर्ने चेतावानी दिएका छन् ।