पाँचथर। मेची राजमार्गको फिदिम बजारखण्ड विस्तारका क्रममा ‘लिम्बूवान गेट’ भत्काइएको छ। फिदिम बजारको मध्यभागमा रहेको प्रवेशद्वार ‘लिम्बूवान गेट’ मंगलबार साँझ भत्काइएको हो।
बजार क्षेत्रको उपयुक्त स्थानमा प्रवेशद्वार स्थापना गर्ने सहमतिपछि उक्त गेट भत्काएको बताइएको छ। प्रवेशद्वार संरक्षण गर्दै आएका संस्थासहित जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा प्रवेशद्वार भत्काइएको छ।
मेची राजमार्गका लागि फिदिम बजारखण्डमा विस्तार गर्दा उक्त प्रवेशद्वार सडकको बीचमा पर्ने भएकाले भत्काउन लामो समयदेखि छलफल चलेको थियो । प्रवेशद्वारलाई पुरानै स्वरुपमा फिदिमको मुख्य सडकस्थित माछापुच्छ«े बैंक छेउ, फिदिम माध्यमिक विद्यालयको खेलमैदानअघि वा पुरानो बसपार्क आसपासका तीन स्थानमध्ये एक स्थानमा निर्माण गर्ने सहमति भएको छ।
लिम्बूवान गेट व्यवस्थापन समितिका संयोजक मधु केरुङको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्दम्बे, फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, प्रहरी नायब उपरीक्षक हरि खतिवडाको उपस्थितिमा सम्पन्न बैठकले प्रवेशद्वार स्थानान्तरण गर्ने निर्णय गरेको थियो । पछिल्लो समय ‘लिम्बूवान गेट’ नामले परिचित उक्त प्रवेशद्वार आठ मिटर चौडा सडकमा निर्माण गरिएकामा मेची राजमार्गको फिदिम बजार क्षेत्रको एक दशमलव किलोमिटर सडक १७ मिटर चौडा गर्ने क्रमा प्रवेशद्वार भत्काउनुपर्ने अवस्था आएको थियो ।