जाजरकोट। पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रुकुम–पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ । नदीमा पक्की पुल निर्माणमा समय लाग्ने भएपछि तत्कालका लागि बेलिब्रिज निर्माण गर्न लागिएको हो।
बेलिब्रिज निर्माणका लागि तीन ठाउँमा सर्वे भएको बताइएको छ। भेरी नगरपालिकाको–११ र १३ का तीन स्थानमा सर्वे भएको छ ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पक्की पुल निर्माण ठेक्का पाएको कम्पनीले १० वर्षसम्म पनि काम नगरेपछि हाल सम्झौता रद्द गरिएको छ । सरकारले निर्माण कम्पनी वाईपी कन्ट्रक्सन प्रालि काठमाडौँविरुद्ध समयमै काम नगरेको भन्दै रु आठ करोड ५७ लाख ९५ हजार ६२६ जरिवाना समेत गरेको छ । सरकारको उक्त निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दर्ता गरेको छ ।
निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि काम गर्न अटेर गरेपछि गत मङसिर २९ मा विभागीय निर्णय अनुसार ठेक्का सम्झौता रद्द गरिएको निर्देशनालयले जनाएकोछ।