तनहुँ। जलवायु परिवर्तन र गर्मीका कारण विद्युत उत्पादन घट्न थालेको छ। आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घट्न थालेको हो।
हिमालमा प्रशस्त हिउँ नहुँदा नदीमा पानीको बहाव कम भएर विद्युत् उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ। विगत वर्षको तुलनामा यसवर्ष लामो समयदेखि खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्दै गएको र कतिपय मुहानसमेत सुक्दै गएकाले विद्युत उत्पादन कमी भएको बताइएको छ।
पानी कम हुँदा अहिले दिउँसोको समयमा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ । नदीमा पानीको बहाव वृद्धि भएको समयमा तीनवटा युनिटबाट २३र२३ मेगावाटका दरले पूर्ण क्षमताको (६९ मेगावाट) विद्युत् उत्पादन हुने गर्दछ ।
नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोही अनुसार घट्दै गएको केन्द्रले जनाएको छ। साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर लैजाने र साँझ र बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको छ ।
यति बेला सुख्खा याम भएकोले उत्पादनमा कमी आएको तर हिमालमा प्रशस्त हिउँ परेको भए प्रतिदिन झण्डै १० युनिट बढी विद्युत् उत्पादन गर्न सकिने समेत केन्द्रले जनाएको छ।