काठमाडौं। इसुवा खोला अर्धजलाशय जलविद्युत आयोजनाको निर्माण कार्य आधा भन्दाबढी पूरा भएको छ । केबिएनआर इसुवा पावर कम्पनीले संखुवासभामा निर्माण गरिरहेको ९७.२० मेगावाटको आयोजनाको काम हालसम्म ५५ प्रतिशत पूरा भएको हो।
अहिले आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहमा धमाधम काम भइरहेको कम्पनीले जनाएको छ।
९७.२० मेगावाटको आयोजना भएपनि यसमा सुरुङ छैन । ७ किलोमिटर लामो पाइप लाइन रहनेमा अहिले धमाधम काम भइरहेको कम्पनीले जानकारी दिएको छ । सर्ज ट्याङ्कको निर्माण सकिएको छ । विद्युतगृहमा पनि करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ।
यो आयोजनाबाट २०८२ साल असारभित्र विद्युत उत्पादन गर्ने तालिका छ । पहिले २०८० साल चैतभित्र आयोजना सम्पन्न गर्ने तालिका भएपनि कोभिड–१९ महामारीको प्रभावका कारण निर्माणले गति लिन नसकेका कारण सरकारले २ वर्ष म्याद थप गरेको हो।
आयोजनाले उत्पादन गर्ने विद्युत २२० केभी शीतलपाटी सबस्टेसनमा जोडिनेछ ।