दार्चुला। दार्चुलाको व्यास गाउँपालिका–१ भोलुङको हिमपहिरोमा बेपत्ता पाँचै जनाको शव भेटिएको छ। वैशाख १९ गते गएको हिमपहिरोमा परेर बेपत्ता भएका पाँच जनाको शव नौ दिनपछि भेटिएको हो।
हिमपहिरोमा परेर दार्चुलाको दुहुँ गाउँपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर, उनकी आमा ३६ वर्षीया कमला कुँवर, डोटी जोयराल गाउँपालिका–२ डोटीका ४५ वर्षीया नवती डोमा थापा, २८ वर्षीय ईश्वरी थापा र १५ वर्षीया छिमी सोमो थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
हिमपहिरोमा परेका अन्य सात जनाले भागेर ज्यान बचाएका थिए। व्यास गाउँपालिका –१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म र सितापुल प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीले बेपत्ताको खोजी गरेको हो। यसअघि अन्य चार जनाको शव फेला परेको ठाउँबाट करिब दुई सय मिटर तल एक किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ।
मृत फेला परेका पाँचै जनाको शवलाई भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा ल्याइएको छ।