काठमाडौं। पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूूल्य २० प्रतिशत घटेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (क्रुड आयल ब्रेन्ड) को मूूल्य २०.३ प्रतिशतले घटेको हो।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय बजारमा २०७८ चैत मसान्तसम्म प्रतिब्यारल १०८.४९ अमेरिकी डलर रहेकामा २०७९ चैतमा घटेर ८६.५१ अमेरिकी डलरमा झरेको हो ।
रुस–युक्रेनको युुद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको थियो । रुसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली सङ्घका मुलुकले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य एक्कासि बढेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असर नेपालमा समेत परेको थियो । गत असोजदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रूपमा घट्दै गएको छ । पछिल्लो समय तेलको उत्पादन बढ्दै गएपछि मूूल्यमा गिरावट हुुँदै आएको हो ।