काठमाडौं। नेपाल वायु सेवा निगमले थप दुई वटा जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानका लागि जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाउन निगमले उपसमिति बनाएको हो।
निगम सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिरशमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ ।
देशका सुगम गन्तव्यमा हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्ययोजना बनाउन उपसमिति बनाएको निगमले जनाएको छ ।
उक्त उपसमितिले २१ कार्य दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यसमेत सुरु गरिसकेको निगमले जनाएको छ। सहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएका कारण निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न नसकेपछि नयाँ दुई जहाज किन्न लागेको हो ।
नयाँ जहाज खरिद गरेपश्चात् काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत सुगम गन्तव्यमा प्रादेशिक उडान गर्ने छ।