काठमाडौं। नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। सो पुल सम्झौताको १४ महिनाअगावै निर्माण सम्पन्न भएको हो।
उक्त पुल खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको हो। सो पक्की पुलको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका हुन्।
तादीको खरानीटार र उर्लेनीको सीमा हुँदै बगेको दोर्खुखोलामा ४१ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको पक्की पुल निर्माण सुरु भएको छ महिनामै सम्पन्न भएको हो । विसं २०७९ असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच दुई वर्ष (विसं २०८१ असार ३०) भित्र पुल सम्पन्न गर्ने सम्झौता भएको थियो ।
ठाडो खोला र पानीको बहाबले साउन १ देखिको सट्टामा काम सुरु गर्न कात्तिक लागेको थियो । पुल निर्माणको काम सुरु भएको छ महिना नपुग्दै सम्पन्न गरेको जयविष्णु निर्माण सेवाले बताएको छ। २४ महिनामा पूरा गर्नुपर्ने काम १० महिनामै सम्पन्न भएको हो।
जिल्लाकै विकट बस्तीका रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोधका रुपमा रहेको दोर्खुखोलामा उकत पुल निर्माण गरिएको हो।