गुल्मी। रेसुंगा विमानस्थल सञ्चालनमा आएको छ। शुक्रबार बिहान नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो।
काठमाडौंबाट ५० मिनेटमा जिल्ला पुग्न सकिने भएको छ। गुल्मेलीको वर्षौदेखिको सपना साकार भएको भन्दै स्थानीयहरु खुशी भएका छन्।
रेसुंगा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्नेबारे गत फागुनमा सम्झौता गरेको थियो। रेसुंगा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३०० रुपैयाँ लाग्नेछ।
साताको दुई दिन मंगलबार र शुक्रबार उडान भर्ने स्वीकृत भए पनि अहिलेका लागि शुक्रबार मात्रै उडान भर्ने कार्यतालिका रहेको एयरलाइन्सले जनाएको छ। काठमाडौंबाट रेसुंगा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका रहेको रेसुंगा नगरपालिकाले जनाएको छ।
रेसुंगा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका छ। विमानस्थलबाट गुल्मी जिल्लासँगै जोडिएका जिल्ला अर्घाखाँची, प्यूठान, बाग्लुङ, पाल्पा र स्याङ्जाका नागरिकले सेवा लिन सक्नेछन्।