काठमाडौं। आगामी जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण गर्न रोकिने भएको छ। मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नका लागि काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी रोकिने भएको हो।
गेट नम्बर ९ मा रहेको हेडवक्र्समा नयाँ सिलिन्डर जडान गर्नुपर्ने र त्यसका लागि पानीको प्रवाह नै बन्द गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
पोहोर सालको बाढीले बिगारेकाले नयाँ सिलिन्डर राख्नुपर्ने र गेट नम्बर १ मा पनि जाली राख्न लागिएको छ।
ठूलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागेको आयोजनाको भनाइ छ। मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सुरु गरिने आयोजनाले जनाएको छ।
२०७९ मङ्सिर २३ गतेदेखि तेस्रो पटक काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानीको वितरण सुरु भएको थियो । २०७७ चैतमा अस्थायी रूपमा पहिलो पटक र २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो ।