काठमाडौं। नेपाल–बंगलादेशबीच यहि जेठ पहिलो साता ऊर्जा सचिवस्तरीय बैंठक हुँदैछ। विद्युत व्यापारमा दुई देशबीच ‘ब्रेक थ्रु’ गर्न प्रस्ताव गर्ने गरी जेठ १ र ३ गते बैठक हुने भएको हो।
बंगलादेशमा बस्ने बैठकको पहिलो दिन सहसचिवस्तरीय बैठक हुनेछ। यो बैठकले टुङग्याएका एजेण्डालाई दोस्रो दिन बस्ने सचिवस्तरीय बैठकले स्वीकृति दिनेछ।
नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवालले सहसचिस्तरीय बैठकको नेतृत्व गर्नेछन् भने ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सचिवस्तरीय बैठकको नेतृत्व गर्नेछन्।
बैठकमा नेपाल बंगलादेशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारणलाइन निर्माणको विषयमा समेत छलफल हुनेछ। त्यसका लागि पनि भारतको अनुमति चाहिन्छ। दुई देश मिलेर भारतले कसरी सहमत गराउने भन्ने विषयमा छलफल हुनेछ।
नेपाल–बंगलादेश संयुक्त रुपमा आयोजना विकास गर्ने विषयमा समेत छलफल हुनेछ। त्यसैगरी ६८३ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि संयुक्त कम्पनी निर्माण गर्ने र मोडालिटी तय गर्ने योजना छ।