काठमाडौं। आज देखि विद्युतको नयाँ महसुल दर लागू भएको छ। नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर लागू भएको हो। विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँमात्र लाग्ने भएको छ।
मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरूलाई लाभ पुग्नेछ। आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाएको हो। त्यस्तै सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरेको छ।
यसैगरी, सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ। सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्नेहरूको हकमा साविकको दरमा प्रति युनिट ५० पैसा घटाएर प्रतियुनिट ९.५० रुपैयाँ कायम गरिएको र सिंगल फेजबाट आपूर्ति लिइ मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाइएको छ।
आयोगले आन्तरिक रुपमा विद्युत खपत वृद्धि गराउन सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ युनिटभन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न महसुल दर साविकको भन्दा कम गरेको हो। त्यस्तै सिँचाइका ग्राहकको महसुल दर पनि घटाएको छ भने यसपटक सिँचाइका ग्राहकले सबैभन्दा बढी लाभ पाएका छन्। उनीहरूले तिर्नुपर्ने महसुल औषतमा ४०.६९ प्रतिशतसम्म घटाइएको हो। साथै २३०/४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २.०५ ले घटाएर २.२५ कायम गरिएको छ।