रामेछाप। ५५ मेगावाट क्षमताको लिखु–२ आयोजनाको सुरुङमार्गबाट पानी चुहिन थालेको छ। आयोजनाले चार दिनअघि पानी हालेको सुरुङबाट पानी चुहिन थालेपछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलको पेकरनास बस्ती जोखिममा परेको हो।
पेकरनास क्षेत्रमा ४२ परिवारको बसोबास छ ।गाउँभरि जताततै पानी फुटेपछि दुई दिनदेखि गाउँले कोही पनि त्रासले निदाउन नसकेको स्थानीय बताउँछन्।
बस्ती नजिकको सुरुङबाट चुहिने पानी घट्नुको साटो बढ्दै गएकोले जोखिम उच्च रहेको उनीहरुको भनाइ छ।
गाउँमा जताततै पानी उम्रिएपछि स्थानीयले बस्ती अन्यत्र स्थानान्तरण गरिदिनु पर्ने माग लिएर शनिबारदेखि आयोजनाको कार्यालयमा धर्ना दिएका छन्। ठाडो खोला नजिक रहेको आयोजनाको उत्पादन गृहको मूल ढोकामा ताला लगाएर स्थानीयले आयोजनाको ध्यानाकर्षण गराउँदै आएका छन् । मुख्य ढोकामा ताला लागेपछि आयोजनाका कुनै पदाधिकारी फर्केर आएका छैनन् । भित्रको काम समेत तालाबन्दीका कारण दुई दिनदेखि प्रभावित हुँदै आएको छ । बाहिरको काम भने हुँदै गरेको छ ।