म्याग्दी। कालीगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको बेगखोलामा निर्माणाधीन मोटरेबल पुल तिब्र गतिमा अगाडी बढाइएको छ। ठेक्का सम्झौता गरिएको समय अगावै निर्माण सम्पन्न गर्ने गरी कामलाई तिब्रता दिएर अगाडी बढाइएको हो।
७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख रुपियाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो।
पुल निर्माणका लागि सम्झौता गरेसँगै निर्माण कम्पनीले योजनास्थलमा मजदुर र उपकरण परिचालन गरेर निर्माण कार्यलाई तीव्रता दिएको थियो। योजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको छ।
पुलको एउटा स्ल्याप ढलान भइसकेको र अर्कोको एक हप्ताभित्र ढलान गर्ने गरी तयारी गरिएको बताइएको छ। २०८० साल चैत २८ गतेभित्र योजना सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ। सम्झौताअगावै पुल निर्माण गर्ने गरी कार्यालय जुटेको निर्माण कम्पनीको भनाइ छ।