काठमाडौं। गौतम बुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण गर्ने परियोजना रोकिएको छ। दोस्रो टर्मिनल भवनका लागि एसियाली विकास बैंकबाट थप ऋण लिने प्रक्रियामा अर्थमन्त्रालयले रोक लगाएसँगै नागरिक उड्डयन प्राधिकरणले परियोजना रोकेको हो।
गौतम बुद्धमा अहिले अन्तर्राष्ट्रिय उडान हुन नसकेको र दोस्रो टर्मिनल बनाउन आवश्यक नरहेको भन्दै मन्त्रालयबाट एडीबीलाई जवाफ दिइएको थियो। दोस्रो टर्मिनलका लागि आवश्यक रकम नपाएपछि प्राधिकरणले तत्कालका लागि यो परियोजना रोकेको हो।
कुल सात सय विघा क्षेत्रफल रहेको यो विमानस्थलको पश्चिमतर्फ प्राधिकरणले नयाँ टर्मिनल भवन विस्तार गर्न लागेको थियो। विमानस्थलको नयाँ टर्मिनल भवन विस्तारका लागि नाप नक्सा पनि तयार भइसकेको छ। प्राधिकरणले पाँच वर्ष पछिको ट्राफिकलाई मध्यनजर गर्दै नयाँ टर्मिनल भवन तयार गर्ने योजना बनाएको थियो, जुन तत्काललाई रोकिएको प्राधिकरणले जनाएको छ।
अहिले भएको टर्मिनल भवनमा प्रति घण्टा ६५० यात्रु सेवा क्षमता रहेको छ।
भारतसँगको एयर रुट विवाद, सिंगल रनवे लगायतका कारण गौतम बुद्धमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। जजिरा एयरले आफ्नो खुशीमा यहाँ उडान भर्दै आएको छ।गौतमबुद्धले काठमाडौंको सर्टेन ट्राफिक मात्र लिन सक्ने भएकाले दोस्रो टर्मिनल बनाएर ऋणको भार बोक्न नहुने विज्ञहरुले बताउँदै आएका थिए।