म्याग्दी। म्याग्दीको पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न सुरु गरिएकोे छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलाते हुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडक कालोपत्रे गर्न थालिएको हो।
अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको यो सडक खुलेको करिब १५ वर्षपछि कालोपत्र हुन थालेको हो। यो सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो।
प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको यो आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजार रुपैयाँमा ठेक्का लिएको थियो। हाल सडक विस्तार, नाली, पर्खाल निर्माणलगायत संरचना बनाउने, बेस, सब बेस राख्ने काम सकिएपछि कालोपत्र गर्न थालिएको छ।
विसं २०७७ जेठ २२ गते सक्ने सम्झौता भएको आयोजनाको विभिन्न समस्याका कारण लक्ष्य भन्दा तीन वर्षपछि मात्र सकिने भएको छ। निर्माण ढिलाइ हुनुमा निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूवनोट, प्राकृतिक विपत्ति, कोरोना महामारीलगायतका कारण देखाइएको छ।