जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले जिल्लाकै दुर्गम मुडुरी गाउँमा बिजुली बाल्न सौर्य उर्जा जडान कार्य थालेको छ । गएको साता गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सौर्य उर्जा निर्माणको औपचारिक शिलान्यास समेत गरेका छन् ।
गुठिचौर–२ मा पर्ने मुडुरी गाउँलगायत वडाभरीका करिब २ सय बढी घरधुरीलाई विद्युतको पहुँचमा पुर्याउन सौर्य उर्जा जडानको काम थालिएको अध्यक्ष भण्डारीले बताए ।
उनले भने, “बिगतदेखि नै यो वडा अन्धकार थियो । हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए । विपन्न घरपरीवारले दियालोको भरमा रात कटाउँथे । सदियौँदेखि अन्धकारमा रुमल्लीएका बस्तीलाई निकट भविष्यमै उज्यालो प्रदान गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।”
करिब ५० किलोवाट सौर्य उर्जा जडानका लागि गाउँपालिबाट ३ करोड ५६ लाख बजेट विनियोजनसमेत भइसकेको अध्यक्ष भण्डारीले जानकारी दिए । “गाउँगाउँमा सडक, घरघरमा बिजुली, ‘एक घर एक धारा’ को अवधारणा अनुसार कार्यकालको अन्त्यमा साढे ३ करोड लगानी गरेर अध्यारो बस्तीलाई झिलिमिली गर्ने तयारीमा रहेको अध्यक्षको भनाइ छ ।