काठमाडौं। नेपालबाट तत्कालका लागि ५० मेगावाट बिजुली लैजान बंगलादेश तयार भएको छ। सोमबारदेखि सुरु भएको नेपाल–बंगलादेश सचिवस्तरीय बैठकमा विद्युत लैजान बंगलादेश तयार भएको हो।
सोमबारको बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवालले गरेका छन्। यो बैठकले छलफल गरेका एजेण्डामाथि मंगलबारको सचिवस्तरीय बैठकले स्वीकृति दिने छ।
बंगलादेशमा भइरहेको सचिवस्तरीय बैठकको नेतृत्व ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले गरेका छन्।
पहिलो दिनको बैठकमा विद्युत व्यापार, प्रसारणलाइन, त्रिपक्षीय सम्झौताका एजेण्डामा छलफल भएको छ।
नेपाल–बंगलादेशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारणलाइन निर्माण गर्ने विषयमा छलफल भएको छ। अहिले भारत र बंगलादेशबीच व्यापार भइरहेको प्रसारणलाइनबाट ५० मेगावाट लैजाने विषयमा छलफल भएको हो। भविष्यमा व्यापारको आयतन वृद्धि गर्नका लागि डेडिकेटेड प्रसारणलाइन निर्माण गर्न छलफल भएको हो।
भारतको बाटो हुँदै लैजाने भएकाले यस विषयमा भारतलाई मनाउन जरुरी छ। भारतले ग्रीन सिंग्नल दिएको भएपनि नेपाल–बंगलादेशबीच विद्युत व्यापारको स्वीकृति दिएको छैन।
नेपालमा संयुक्त रुपमा जलविद्युत आयोजना निर्माण गर्ने विषयमा पनि छलफल भएको भेटुवालले बताए।