काठमाडौं। सेराबेंशी–मुक्तिनाथ केवलकार आयोजना निर्माणका लागि प्रक्रिया सुरु भएको छ। चार जिल्लालाई जोड्ने केवलकार परियोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु भएको हो।
विश्वकै सबैभन्दा लामो परियोजनाका रुपमा बन्ने गरी डिजाइन गरिएको आयोजना चार वटा जिल्ला हुँदै मुक्तिनाथ मन्दिर पुग्नेछ।
कास्कीको अन्नपूर्ण गाउँपालिका, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको मोदी गाउँपालिका र मुस्ताङको घरापझोंग, थासाङ र बह्रागउँ मुक्तिक्षेत्र गाउँपालिकामा मुक्तिनाथ दर्शन प्रालिले केवलकार परियोजना सञ्चालन गर्न लागेको छ।
कम्पनीले आगामी जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म प्रभावित गाउँपालिकाका बासिन्दासँग छलफल गर्ने भएको छ।
कालीगण्डकी नदी र मोदी नदीको जलाधार क्षेत्र हुँदै जाने आयोजना पर्वतको शेराफाँटबाट सुरु हुने छ। मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवासम्म केवलकार सञ्चालन हुने छ।