दाङ। तुलसीपुर उपमहानगरपालिकाले सवारी दुर्घटना न्यूनीकरण गर्न चार प्रमुख स्थानमा ‘डिजिटल बोर्ड’ स्थापना गरेको छ। ट्राफिक नियमको पालना गराउन तथा चेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड स्थापना गरिएका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सोमवार आयोजित कार्यक्रममा मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा सबै सचेत हुनुपर्ने बताए। बजारमा व्यवसाय गर्दै गर्दा अरूलाई अप्ठ्यारो नहुने गरी व्यवसाय गर्न उहाँले सबैलाई आग्रह गरे।
यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले अस्वस्थ प्रतिस्पर्धा र तीव्रगतिका कारण सबैभन्दा धेरै दुर्घटना हुने गरेको उल्लेख गरे। उनले दुर्घटना न्यूनीकरण गर्न आम नागरिकलाई ट्राफिक नियमबारे सचेतना दिनका लागि तुलसीपुरमा नागरिक तथा स्थानीय सरकारको सहयोगमा डिजिटल बोर्ड स्थापना गरिएको बताए।