काठमाडौं। तुम्लिङटार विमानस्थलमा ठूलो एटीआर विमानको व्यावसायिक उडान सुरु भएको छ। तुम्लिङटार विमानस्थलमा मंगलबारदेखि ७० यात्रु क्षमता भएको फ्रेन्च–इटालियन विमान एटीआर–७२ले काठमाडौंबाट सिधा उडान थालेको हो।
बुद्ध एयरको एटीआर–७२ विमानले परीक्षण उडान सफल भएको करिब एक वर्षपछि तुम्लिङटारमा ठूलो एटीआर विमानबाट व्यावसायिक उडान सुरु गरेको हो।
सातामा ५ दिन ७० यात्रु क्षमताको एटीआर र २ दिन ४७ यात्रु क्षमता भएको एटीआर–४२ विमानबाट व्यावसायिक उडान हुने बताइएको छ।
नेपालमा पोखरा र सुर्खेतपछि यो विमानले मध्यपहाडको खोचमा पर्ने तेस्रो गन्तव्य तुम्लिङटारमा व्यावसायिक उडान थालेको छ ।२०२९ सालदेखि उडान शुरु भएको तुम्लिङटारमा १९ देखि ५० सिट क्षमताका विमानले उडान गर्दै आएका थिए ।