काठमाडौं। बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले विमानस्थलको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा विमानस्थलको कामलाई अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाए। उनले अर्थमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझेको जस्तो लागेको भन्दै उच्च प्राथमिकता दिन माग गरे।
उनले भने, “निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई डर लाग्न थालेको छ। मुलुकको गेम चेन्जर प्रोग्रामका रूपमा रहेको उक्त विमानस्थललाई अघि बढाउन आग्रह गर्छु।”