काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले एलपीजी ग्यासमा सरकारले दिँदै आएको अनुदान हटाउन सुझाव दिएको छ।
आगामी वर्षको बजेटका लागि ३१ बुँदे लिखित सुझाव दिँदै इप्पानले विद्युत खपत बढाउन एलपीजी ग्यासको अनुदान हटाएर इन्डक्सन चुलोमा अनुदान दिन सुझाएको हो।
इप्पानले भनेको छ, ‘बिजुली हाम्रो आफ्नो उत्पादन हो। खपत गर्नेलाई प्रोत्साहन गर्नैपर्छ। यता खेर जाने अवस्था छ। बिजुली खपत गर्नेलाई अनुदान दिनपर्छ।’
इप्पानका अनुसार २० प्रतिशत मात्रै ग्यासलाई विस्थापन गर्न सकेमा व्यापारघाटा समेत कम गर्न सहयोग हुनेछ। एक सिलिण्डर ग्यासका लागि दिँदै आएको अनुदान इन्डक्सनमा दिएमा प्रयोग बढ्न थाल्ने इप्पानको दाबी छ।
अहिले सरकारले ५४५ रुपैयाँ अनुदान दिएर १८०० रुपैयाँ प्रतिसिलिण्डर बिक्री गरिरहेको छ।