काठमाडौं। ६८३ मेगावाटको सुनकोसी–३ जलविद्युत आयोजना निर्माण गर्न ६ महिनाभित्र जोइन्ट भेन्चर सम्झौता गर्ने नेपाल र बंगलादेशबीच सहमति भएको छ।
ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को मंगलबार सम्पन्न बैठकमा सुनकोशी–३ जलाशय जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डले संयुक्तरूपमा निर्माण गर्ने सहमति अनुसार संयुक्त कम्पनी स्थापना गरी निर्माण गर्न जेभी सम्झौता हुने सहमति भएको हो।
लगानी गर्न बंगलादेश तयार भई संयुक्त कम्पनी स्थापना गर्ने सहमति बनिसकेकाले जेभी सम्झौता गरी आयोजनाको निर्माण प्रक्रिया अगाडि बनाउने निर्णय भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटवालका अनुसार आगामी हिउँदसम्ममा भारतीय भूमिमा बनेको प्रसारण लाइनको प्रयोग गरी ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्न सुरु गर्ने सहमति पनि भएको छ।
बंगलादेशसँगको विद्युत व्यापारका लागि विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारत सरकारको नोडल एजेन्सी एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) ले त्रिपक्षीय सम्झौतालाई अन्तिम रुप दिने सहमति पनि बैठकमा भएको छ।
यसैगरी बैठकले नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।