काठमाडौं। नेपालमा उत्पादन भएका विद्युतीय मोटरसाइकल दर्ता गर्न सुरु भएको छ। कानुनको अभावमा दर्ता रोकिएको विद्युतीय मोटरसाइकलको दर्ता गर्न सुरु गरिएको हो।
विद्युतीय मोटरसाइकल यात्रीको काठमाडौंको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय मोटरसाइकलमा दर्ता भएको छ।
नेपालमा उत्पादन भएका वा जडान भएका सवारीसाधन आयात प्रज्ञापन पत्रबिना नै दर्ता गर्ने गरी सङ्घीय सरकारले कानुनी व्यवस्था गरेको छ। विद्युतीय मोटरसाइकल बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका प्रदेश सरकार मातहतको चार वटा यातायात कार्यालयमा दर्ता गर्न सकिने गरी व्यवस्था गरिएको छ।
कानुन अभावमा यसअघि सवारी दर्ताका लागि भन्सार प्रज्ञापन पत्र अनिवार्य गरिएकाले नेपालमा उत्पादन भएका वा जडान भएका सवारीसाधन दर्ता हुन सकेको थिएन। नेपालमा नै उत्पादन भएको विद्युतीय मोटरसाइकल अब प्रज्ञापन पत्र र भन्सार रसिदबिना नै दर्ता सुरु भएको हो।