काठमाडौं। प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को १००औँ सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने क्रममा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका हुन्।
उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल भएको प्रहरी प्रधान कार्यालयले बताएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झण्डा हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीसहितको आरोहण दललाई विदाई गरेका थिए । टोली २०८० वैशाख २ गते काठमाडौँबाट आरोहणका लागि प्रस्थान गरेको थियो ।
उक्त आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाईएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक क्रियाकलापविरुद्ध ऐक्यबद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवद्र्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।