काठमाडौं। निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको काम हालसम्म आधाभन्दा बढी सम्पन्न भएको छ। रसुवा र नुवाकोटको सीमामा निर्माणाधीन आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत भएको हो।
आयोजनाको मुख्य सुरुङ पूरा हुन अब ४३५ मिटर बाँकी छ । आयोजनाको ३ हजार ८ सय ५ मिटर लामो मुख्य सुरुङमध्ये ३ हजार ३ सय ७० मिटर खनेर सकिएको छ।
बाँकी रहेको मुख्य सुरुङ बढीमा अबको ६ महिनामा खनेर सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। कमजोर भौगर्भिक अवस्थाका कारण मुख्य सुरुङको काम सम्पन्न गर्न बढी समय लागिरहेको आयोजनाले जनाएको छ।
सुरुङ खनिएको भागमा कंक्रिटिङ र लाइनिङको काम पनि अहिले भइरहेको छ ।
यस आयोजनाको विद्युतगृहको भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । विद्युतगृहमा जडान हुने उपकरण अबको २ महिनामा आयात गर्न सुरु गरिने कम्पनीले जनाएको छ ।
आयोजना सम्पन्न गर्न ८ अर्ब २२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । ३ वर्षमा सम्पन्न गर्ने भनिएको आयोजनाको निर्माण विविध कारणले लम्बिएपछि डलर महंगिँदा तथा बैंकको ब्यादरका कारण लागत केही बढ्ने सम्भावना रहेपनि निर्धारित लागतभित्रै सम्पन्न गर्न प्रयास हुने आयोजनाको दाबी छ।