काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई समितिमा देशबन्धु बस्नेत (अजित) चयन भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम उनलाई पर्यटन तथा हवाई समितिको सभापतिमा चयन गरेका हुन्।
नेपालको पर्यटन क्षेत्रमा १ दशकदेखि सक्रिय बस्नेत महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन्।
यसअघि महासंघको एनआरएन तथा द्विराष्ट्रिय फोरमका सभापति हुँदा विभिन्न देशका द्विराष्ट्रिय संघ र गैर आवासीय नेपाली संघसंस्थालाई चलायमान बनाएर नेपालमा विदेशी लगानी भित्र्याउन अहम भूमिका निर्वाह गरेका बस्नेतको नियुक्तीसँगै पर्यटन क्षेत्रमा समेत ठूलो योगदान दिने विश्वास लिइएको छ।
साथै, उनको कार्यकालमा आगामी दिनमा थप अन्य मुलुकसँग सिधा हवाई उडान गरी विदेशी पर्यटक भित्र्याउनमा समेत सहयोग पुग्ने सरोकारवालाहरू बताउँछन्।
प्रमाणपत्र वितरण कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको अवस्थामा पर्यटन समितिको सभापतिमा बस्नेतको चयनसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरी विदेशी पर्यटक भित्र्याएर डलर आर्जन गर्न थप सहयोग पुग्ने बताए।