पोखरा। पोखराको फेवाताल बीचमा रहेको बाराही मन्दिर पुनः निमाण गर्ने काम शुरु भएको छ। २०७२ सालको भूकम्पका कारण मन्दिरको तल्लो भागको जगलगायत विभिन्न भागमा चर्केर जीर्ण भएकाले पुनःनिर्माण गर्न शुरु गरिएको हो ।
आगामी एक वर्षभित्र निर्माणको काम सम्पन्न हुने गरी काम गर्ने तयारीसहित मुख्य मन्दिर भत्काइएपछि भक्तजनहरुका लागि पूजापाठ गर्न वैकल्पिक क्षेत्रमा व्यवस्था मिलाई पूजापाठलाई निरन्तरता दिइएको छ।
ताल बाराही गुठी व्यवस्थापन समितिको एक करोड ४४ लाख, भक्तजनहरुबाट प्राप्त दान तथा चन्दा र पुरातत्व विभागबाट प्राप्त हुने २५ लाख रुपैयाको लगानी र विभागकै प्रबिधिक सहयोगमा मन्दिरको पुनःनिर्माण हुने ताल बाराही गुठी व्यवस्थापन समितिले जनाएको छ।
लामो समयदेखि मन्दिर चर्केर जीर्ण बन्दै गएको र जगदेखिनै दक्षिणतर्फ करिब ३ ईन्च ढल्किएर जोखिम बढ्दै गएपछि नित्य पुजापाठ र भक्तजनहरुलाई समेत पूजाअर्चनामा समस्या भएको थियो ।