काठमाडौं। नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइमले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको अवलोकन गरेकी छन्।
मन्त्री टिभिनेरेइमसहितको विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डल लगायतले उक्त केन्द्रको अवलोकन गरेका हुन्।
अवलोकनका क्रममा एमएसआई नेपालका वरिष्ठ सल्लाहकार डा केपी उपाध्याय र कार्यकारी निर्देशक तुषार निरौलाले नेपालमा एमएसआईले यौन तथा प्रजनन स्वास्थ्य सेवा र अधिकारको पैरवी क्षेत्रमा गरिराखेका सेवा तथा कामका बारेमा जानकारी दिएका छन्।
यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका क्षेत्रमा नर्वे सरकारले लामो समयदेखि एमएसआईलाई आर्थिक सहयोग गर्दै आएको छ ।
नर्वे सरकारको विकास सहायतासम्बन्धी निकाय (नोराड) ले सन् २०१४ देखि नेपालका दुर्गम भेगमा महिलालाई गर्भनिरोधक उपायसम्बन्धी सेवा र औषधिद्वारा गरिने गर्भपतन (मेडिकल एर्बोसन) सुविधाप्रदान गर्न एमएसआईलाई आर्थिक अनुदान उपलब्ध गराइरहेको छ।