डोटी। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिमलाई विश्वभर चिनाउन यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास हुनु जरुरी रहेको बताएका छन्।

सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदार मेलामा सहभागी हुनका लागि बुधबार सो क्षेत्रमा पुगेका अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा रहेका विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र देश विदेशमा चिनाउनका लागि भए पनि ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न जरुरी रहेको बताएका हुन्। सुदूरपश्चिम धार्मिक, पर्यटकीय क्षेत्रसहित कला संस्कृतिले धनी प्रदेश भएकाले त्यहाँका पुराना कला संस्कृति र धार्मिक क्षेत्रको प्रचारप्रसारसहित संरक्षण गर्न अति जरुरी रहेको उनले जनाएका छन्। त्यसैगरी उनले डोटीमा हिन्दू धर्मका चारै धामलगायत प्रमुख धार्मिक क्षेत्रको एउटै स्थानमा हेर्न मिल्ने गरी पर्यटकीय सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएका बेला सबै धार्मिक क्षेत्रको झल्को दिने गरी धार्मिक सङ्ग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको भए पनि आफू सरकारबाट बाहिरिएसँगै सो कुराले प्राथमिकता नपाएको गुनासो पनि गरेका छन्।
सोही कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुराना धार्मिक कला, संस्कृतिको जगेर्ना गर्नुपर्ने जनाएका छन्। ‘नयाँ पिँढीलाई जानकारी होस् भन्नका लागि र आफ्नो संस्कृति जोगाइ राख्न र चिनाउनका लागि पुराना धार्मिक कला, संस्कृतिको जगेर्ना गर्नु अवश्यक रहेको साथै यस्तो कार्यको लागि आफ्नो मन्त्रालयले पूर्ण सहयोग गर्ने मन्त्री आलेको भनाइ छ। त्यसैगरी उनले डोटीको प्रसिद्ध मन्दिर शैलेश्वरी तथा बडिकेदारलगायत क्षेत्रको विकास तथा स्तरोन्नतिका लागि थप पहल गर्नुका साथै आवश्यक बजेटसमेत विनियोजन गरिने बताएका छन्। साथै धार्मिक तथा पर्यटन क्षेत्रको प्रचारप्रसार गर्नसके सो क्षेत्रमा थुप्रै पर्यटक भित्र्याउन सक्ने भएकाले अब सबै ठाउँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरिने उनले जानकारी गराएका छन्।
सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदारमा हरेक वर्ष तिहारपछिको चतुर्दशी तिथिमा पूजाआजा तथा मेला लाग्ने गर्दछ। बडिकेदारको शिलामा पूजाआजा गर्ने गरिन्छ। शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत रहेको छ। मूर्ति रहेको स्थान भौगोलिकरुपमा विकट अर्थात् भिरको बीचमा रहेको छ। अन्य देवीदेवताको मन्दिरमा भन्दा बडिकेदारमा विभिन्न जातजाति भाषाभाषीको समान आस्थाको केन्द्र बन्दै गएको छ। प्रायजसो सन्तान प्राप्त नभएका अधिकांश महिला पुरुष पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन्। सो मेलामा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तीर्थालु भक्तजन आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्षले जानकारी दिएका छन्।