काठमाडौं। सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विमानस्थल निर्माण गर्ने घोषणा गरेका हुन्।
सर्वोच्च अदालतले गत वर्ष यथास्थितिमै निर्माण अगाडि नबढाउन आदेश दिए पनि राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण, रुख कटान, नदी नियन्त्रणलगायतका प्रारम्भिक काम भइरहेको छ । सो विमानस्थल निर्माणका लागि जम्मा ११० बिघा जग्गा आवश्यक पर्ने भएकामा अहिलेसम्म ७० बिघाभन्दा बढी जग्गा अधिग्रहण भइसकेको निजगढ विमानस्थल आयोजनाले जनाएको छ।