काठमाडौं। तामाकोसी–५ जलविद्युत आयोजना निर्माण गर्न कर्मचारी संचयकोषले ऋण दिने भएको छ। नेपाल विद्युत प्राधिकरण, तामाकोसी कम्पनी लिमिटेड र संचयकोषबीच आइतबार साँझ ऋण सम्बन्धी त्रिपक्षीय सम्झौता भएको हो।
संचयकोषसँग यसअघि नै समझदारी पत्रमा हस्ताक्षर भइ समझदारी कार्यान्वयनका लागि सम्झौता समेत भएको छ।
करिब १०० मेगावाटको यो आयोजना निर्माणका लागि व्याजसहित २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी (सेयर) बाट जुटाउन लागिएको छ। कर्मचारी संचयकोषबाट मात्रै ऋण लिएर आयोजना बनाउन लागिएको हो। संचयकोषले १३ अर्ब ४७ करोड रुपैयाँ ऋण दिने छ।
यो आयोजना निर्माणका लागि कम्पनीले साउन ९ गते ठेक्का निकालेको थियो। उक्त ठेक्कामा आवेदन दिएकामध्ये दुईवटा मात्रै कम्पनी प्राविधिक प्रस्तावमा पास भए। प्राविधिक प्रस्तावमा पास भएका कम्पनीको आर्थिक प्रस्ताव खोलियो। तर लागत अनुमानभन्दा धेरै कबोल गरेर आवेदन दिएपछि ठेक्का नै रद्द भएको थियो। सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएका थिए।
ठेक्का रद्दपछि पुन ठेक्का निकाल्नका लागि बिडिङ डकुमेन्ट रिभाइजको काम भइरहेको छ।
यो आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) को क्यासकेड आयोजना हो। यो आयोजना निर्माण थालेको चार वर्षमा सम्पन्न गर्ने योजना छ।