काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई स्पष्टीकरण सोधेको छ। मन्त्रालयले विभिन्न १३ वटा विषयमा कोषलाई १५ दिनको समय दिएर स्पष्टीकरण सोधेको हो।
मन्त्रालयले कोषका उपाध्यक्षले पदीय दुरुपयोग, निर्माण कम्पनीसँगको सम्झौतामा मनपरी, टेन्डर निष्कासन रकमको अपचलन र दाताबाट प्राप्त रकमको परिचालन लगायतका विषयमा स्पष्टीकरण सोधेको छ।
मन्त्रालयले महायान पोखरीमा गुरुयोजनाविपरीत अनधिकृत ढङ्गबाट बुद्धमूर्ति बनाउन दिएको भन्ने गुनासोको सन्दर्भमा उक्त मूर्ति बनाउन दिएको हो वा होइन भन्ने विषयमा कोषलाई १५ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।
विभिन्न प्लटहरू कोषले बदनियतपूर्ण ढङ्गले वितरण गरेको, सोक्यो जापानलगायतका सम्झौताको समय सीमाभित्र काम पूरा नगरेको भनेर सम्झौता खारेज गरेको तर अन्य सङ्घसंस्थाको सम्झौता आफूखुसी समयावधि बढाउँदै लगेकोबारे मन्त्रालयले सम्पूर्ण विवरणको माग गरेको छ।
मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तु नष्ट गरी बनाइएका पोखरीमा करोडौँको टेन्डर निष्कासन गरी रकमको अपचलन गरेको गुनासोमा पनि स्पष्टीकरण मागेको छ । कोषको परिसरभित्र काम गर्ने सङ्घसंस्था, निर्माणाधीन परियोजना र परिसरभित्र मोटरबोट सञ्चालनका कानूनी आधारबारे यर्थाथ विवरण पेस गर्न भनिएको छ ।