चितवन। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले दुई सय ७० जना ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयदेखि विद्युत महसुल नतिरेका २ सय ७० ग्राहकलाई प्राधिकरणले सबै सरकारी सेवा रोक्का गर्ने तयारीसहित कालोसूची तयार गरेको हो।
प्राधिकरणले ती ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी पनि गरेको छ।
कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट ७४ लाख ९२ हजार ८ सय ८१ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी छ। ती ग्राहकले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिवानामा वितरण केन्द्रले १० प्रतिशत छुट दिने वितरण केन्द्रले जनाएको छ।