काठमाडौं। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणिमा इको पार्क निर्माण हुने भएको छ। पर्यटन प्रर्वद्धनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पुर्वाधार तथा उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत वाणीमा रहेको गड्विजुला सामुदायीक वनमा इको पार्क निर्माण हुने भएको हो।
सो पार्कको बुधबार नगरप्रमुखले शिलान्यास गरेका छन्। करिब १२ करोड ४२ लाख ६५ हजार १ सय ९३ रुपैयाँको लागतमा निर्माण हुने सो गड्विजुला इको पार्कले स्थानियबासीको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने नगरप्रमुखले जनाएका छन्। डिपिआर अनुसार १२ करोड लगानी लाग्ने भएपनि पहिलो चरणमा पार्क निर्माणका लागी २ करोड ३२ लाख ४३ हजार ९ सय ७ रुपैयामा ठेक्का सम्झौता भएको उनले जानकारी दिएका हुन्।
पर्यटन विकास, पर्यटकिय गन्तव्य स्थल निर्माण गरी आन्तरिक तथा बाह्य पर्टकहरुलाई आर्कषित गर्नका लागि सो पार्क निर्माण गर्न लागिएको उनको भनाइ रहेको छ। पार्क निर्माणका लागि सामुदायीक वनले ३८८११.५२ स्क्वायर मिटर क्षेत्रफल उपलब्ध गराएको नगरप्रमुखले जानकारी गराएका छन्। त्यस्तै वृहत आयोजना भएकाले एकै पटकको बजेटले निर्माण सम्भव नहुने बताउदै नगरप्रमुखले सो इको पार्क निर्माण योजनालाई प्रत्येक वर्ष रकम विनियोजन गर्दै लैजाने र संघ तथा प्रदेश सरकारलाई पनि निर्माणमा सहयोग गर्न आग्रह गरिने बताएका छन्।