कास्की। फेवातालको आसपासको सिमसार क्षेत्र पुर्ने गतिविधि रोक्न माग गरिएको छ। वातावरण संरक्षणका लागि महाअभियान कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष ज्ञापनपत्र बुझाउँदै सिमसार पुर्ने काम रोक्न माग गरेको हो।
संस्थाका संस्थापक संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनले मुख्यमन्त्री पाण्डेसमक्ष फेवातालको माथिल्लो तटीय क्षेत्रमा सिमसार क्षेत्र पुर्ने गतिविधि रोक्न ज्ञापनपत्र बुझाएको हो ।
तलमाथिको क्षेत्र पोखरा वडा १८, २२, २३ र २४ (सेदी, चङ्खपुर, पामे) का प्राकृतिक सम्पदाका रुपमा रहीआएका हरियाली डाँडा खारेर सिमसार क्षेत्र पुर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। उनीहरुले सिमसार पुर्ने कार्यमा सङ्लग्नलाई कारबाहीको माग समेत गरेका छन्।
ज्ञापनपत्रमा विसं २०३१ सालसम्म तालको पानीको भू–भाग पामे नजिकैको चङ्खपुरसम्म फैलिएको स्मरण गराइएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साल वरिपरिको डाँडा खार्न रोकी सिमसार क्षेत्रको संरक्षणको विषयलाई तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।