नुवाकोट। नुवाकोटमा सिंचाइ र बस्ती संरक्षणको लागि ६ योजना थप गरिएको छ। बागमती प्रदेश सरकारले नुवाकोटका लागि विभिन्न ५ वटा सिंचाइ र एउटा बस्ती संरक्षण गरी ६ वटा थप योजनासहित बजेट प्रदान गरेको हो।
थप भएका छ वटा योजनाका लागि ७५ लाख रूपैयाँ प्राप्त भएको जिल्लास्थित जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले जनाएको छ। थपिएका योजनाका सम्बन्धमा सम्बन्धित लाभग्राही उपभोक्ता किसानलाई जानकारी गराएर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन लागिएको छ।
थपिएका योजनामध्ये दुप्चेश्वरस्थित तादी बोक्से बसेरी सिँचाइ योजना, सूर्यगढीस्थित डुडेमुहान हुँदै बगुवा–चनौटे सिँचाइ योजना, विदुरस्थित शेराफाँट सिँचाइ योजना, किस्पाङस्थित अधेँरी सुकौने चमानीडाँडा कोकेगाउँ घलेगाँउ तल्लोखेत सिँचाइ योजना, बेलकोटगढीस्थित बालुवाबगर सिँचाइ योजना र लिखुस्थित चौघडाबजार तादी खोला संरक्षणको लागि थप बजेट प्राप्त भएको छ ।
यसअघि बागमती प्रदेश सरकारबाट २६ करोड ५९ लाख १३० हाराहारीका योजना कार्यान्वयन रहेकामा यही आर्थिक वर्षभित्र कार्यान्वयन गराउन हाल नयाँ छ वटा योजना थपिएको हो ।