गोरखा। मसानेठाटी–ठाँटीपोखरी खण्ड निर्माणको काम अघि बढाउन माग गर्दै स्थानीयले धर्ना दिएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गतको सडक निर्माणको काम अघि बढाउन माग गर्दै स्थानीयले मंगलबार जिल्ला प्रशासनमा धर्ना दिएका हुन् ।
१६ किलोमिटर सडकखण्ड पछिल्लो पटक ठेक्का लागेको ३ वर्षमा ३० प्रतिशतभन्दा बढी काम भएको छैन । नयाँ सडक नबनाएको, पुरानो भएको सडक पनि भत्काएपछि धुलोले बस्न नसक्ने अवस्था भएको स्थानीयको गुनासो छ।
सडकमा ढुंगा र गिट्टी बीचमा थुपारेर अलपत्र छाडिएको छ । निर्माण कम्पनीले ज्याला नदिँदा कामदारलाई घर जाने गाडीभाडा आफूहरूले जोहो गरेर पठाउनुपरेको समेत उनीहरुको दुखेसो छ।
सडक निर्माणलाई तीव्रता दिन माग गर्दै यसअघि पनि पटकपटक निर्माण व्यवसायीलाई स्थानीयले सचेत गराएका थिए । तर निर्माण कम्पनीले काम पनि अघि नबढाएको र काम गर्दाको रासनपानीको पैसा समेत नतिरेको स्थानीय बताउँछन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत मसानेठाँटी–ठाँटीपोखरी सडक निर्माणको ठेक्का हिमदुङ प्यासेफिक जेभीले पाएको छ । २०७७ असार २६ मा ठेक्का सम्झौता गरेको कम्पनीले काम सम्पन्न नगरेपछि २०८० असार २६ सम्म म्याद थप भएको थियो । हालसम्म कामको प्रगति ३० प्रतिशतबाट अघि नबढेपछि स्थानीय धर्नामा उत्रिएका हुन्।