जुम्ला । अवरुद्ध जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्डको सडक ट्रयाक खोल्ने काम सकिएको छ । कात्तिक पहिलो साता भएको वर्षासँगै आएको बाढीले कटान गरेपछि पूर्णरुपमा अवरुद्ध बनेको सडकको ट्रयाक खोल्ने काम सकिएको हो ।
बाढीले जुम्ला–जाजरकोट सडकको करिब २० किलोमिटर सडकमा क्षति गरेको थियो । करिब ४ सय मिटर सडक बाढीले कटान गरेको थियो । सडक डिभिजन जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर बाढीले कटान गरेको ४ सय मिटर सडकको साइडबाट ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ ।
त्रिवेणीदेखि ताम्तीसम्मको ४ सय मिटर कटान भएको सडकमा ग्याविन पर्खाल निर्माण गरिने भएको छ । कटान भएको ४ मिटर क्षेत्रमा ग्याविन पर्खाल निर्माणका लागि गत आवको २ करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ ।
भेरीखोला क्षेत्रका नागरिकको आवतजावत सहज गर्न तथा खाद्यन्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रूर्त गतिमा अघि बढाएको बताइएको छ ।