काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार महसुल असुलीमा कमजोर देखिएको छ । विमानस्थलबाट नियमित उडान हुन नसक्दा भन्सार महसुल असुलीमा कमजोर देखिएको हो ।
विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को चैत महिनासम्मका लागि ८ करोड ९१ लाख ५४ हजार रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य राखेको थियो। तर यस अवधिमा ८५ लाख ५८ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ जुन चैतसम्मको लक्ष्यको तुलनामा १० प्रतिशत मात्र हो ।
नेपालमा अहिले दुई विमानस्थल त्रिभुवन र गौतमबुद्ध सहित कुल ३३ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार हुने गरेको छ । सोहीकारण भन्सार राजस्व संकलन समेत यी नाकाबाट हुने गर्छ। चैतसम्म ४ खर्ब ९० अर्ब रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य भन्सार विभागले राखेको थियो। यस अवधिमा संकलन २ खर्ब ८५ अर्ब मात्र भएको छ। यो लक्ष्यको ५८ प्रतिशत मात्र हो ।