एजेन्सी। अमेरिकाको न्यूयोर्कको रहेको रिजउड नेपाली समाजले दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रको आफ्नै भवन किनेको छ। रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टले सामाजिक सञ्जालमार्फत भवन खरिद गरेको जानकारी दिएका हुन्।
उनले १९९८ मा परिकल्पना गरी २००३ मा गैर मुनाफा सामाजिक संस्थाको रूपमा विधिवत् दर्ता भएको रिजउड नेपाली समाजले परिकल्पना गरेको आफ्नै दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रको आफ्नै भवन खरिद गरेको सबैलाई अवगत गराउन पाउँदा हर्षित भएको बताएका छन्।
उनले प्रक्रियाको लागि गरिएका ठुला दुई कोष वृद्धि कार्यक्रमहरू महापुराण २०१० र महापुराण २०१७ मा प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागी भई दान रकम बोलकबोल गरी दान गरेका सम्पूर्ण दानदाता तथा स्वयंसेवकहरूलाई धन्यवाद दिएका छन् ।
२०२१ को जुन महिनामा भएको साधारण सभाको निर्णय अनुसार यस संस्थाको नाममा २०११ मा खरिद गरिएको जग्गा ९ लाख ९० हजार डलरमा बिक्री गरी गत मे २३ का दिन आफ्नै भवन खरिद गरिएको उनले जनाएका छन् ।
खरिद प्रक्रियाको लागि वैयक्तिक जिम्मेवारी बसी संस्थाले ९ लाख ९० हजार ऋण लिएको समेत सार्वजनिक गरिएको छ ।