काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी असारदेखि अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडान गर्ने भएको छ। सिड्नी विमानस्थलबाट निगमले उडानका लागि अनुमति र स्लट पाएसँगै आगामी असार ६ (जुन २१ तारिख) देखि उडान गर्ने गरी तयारी थालिएको हो।
एयरलाइन्सले सातामा बिहीबार र शनिबारका लागि स्लट पाएको छ। उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ। निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ।
आगामी असार ६ गतेलाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको बताइएको छ।